📍 Kankai Road, Birtamod, Jhapa  ·  Sun–Fri 11:00–17:00📞 980-7918015

कनकाईका किसानलाई वित्तीय साक्षरता र व्यवसाय योजना तालिम

· Lekali Group, Birtamod

कनकाई (झापा), मंसिर ५। जीविकोपार्जनका लागि मात्र खेती गर्दै आएका किसानलाई व्यावसायिक कृषितर्फ लैजाने उद्देश्यले कनकाई नगरपालिकाको जमुनखाडीमा दुई दिने “वित्तीय साक्षरता तथा व्यवसाय योजना तालिम” सम्पन्न भएको छ।

क्यारिटास नेपालको आयोजनामा मंसिर ४ र ५ गते सञ्चालित तालिममा ३० भन्दा बढी स्थानीय किसान र अगुवा सहभागी थिए। तालिमका लागि लेकाली ग्रुपले प्रशिक्षक उपलब्ध गराएको थियो। मुख्य प्रशिक्षकका रूपमा हेमन्त नेपालले तालिम सञ्चालन गरेका थिए।

तालिममा सहभागी किसानलाई आफ्नो खेती वा पशुपालनका लागि सरल व्यवसाय योजना बनाउने तरिका सिकाइएको थियो। कुन व्यवसाय गर्ने, कसलाई बेच्ने, कति लगानी लाग्छ र कति नाफा हुन्छ भन्ने कुरा पहिल्यै लेखेर योजना बनाउँदा जोखिम घट्ने र बैंक तथा सहकारीबाट कर्जा लिन सजिलो हुने प्रशिक्षकले बताए।

तालिममा यी विषयमा छलफल भएको थियो:

  • जीविकोपार्जन खेती र व्यावसायिक खेतीबीचको फरक
  • व्यवसाय छनोट र बजार अध्ययन
  • बल, कमजोरी, अवसर र खतराको (SWOT) विश्लेषण
  • उत्पादन योजना
  • लगानी, खर्च, आम्दानी र नाफाको हिसाब
  • खर्च उठ्ने बिन्दु
  • दैनिक हिसाब कापी राख्ने बानी
  • कर्जाको किस्ता तिर्ने क्षमता
  • कृषि तथा पशु बीमा

बाख्रापालनको उदाहरण लिएर सहभागीले आफैं लगानी र नाफाको हिसाब गरेका थिए। समूहमा बसेर आफ्नै व्यवसाय योजना पनि तयार पारेका थिए। एउटा समूहले योजना प्रस्तुत गर्दा अरू समूहले “बैंक म्यानेजर” बनेर प्रश्न सोधेका थिए, जसले कर्जा माग्दा बैंकले के–के हेर्छ भन्ने कुरा व्यावहारिक रूपमा बुझ्न सजिलो बनायो।

मुख्य प्रशिक्षक हेमन्त नेपालले भने, “किसानले बजार हेरेर मात्र उत्पादन गर्ने, सानोबाट सुरु गर्ने र हरेक दिनको आम्दानी–खर्च लेख्ने बानी बसाले खेती पनि नाफामूलक व्यवसाय बन्न सक्छ।”

तालिमको सुरु र अन्त्यमा सहभागीको बुझाइ मापन गर्न प्रश्नावली परीक्षण (Pre-Post Test) पनि गरिएको थियो

Trainer info : Hemant Nepal

Plan a training like this

Lekali Group runs practical trainings for cooperatives, municipalities, schools and businesses across Koshi Province, at your venue or online.

Book a Training See Programs

Latest Training Reports

More programs delivered by Lekali Group. See all posts →